
- August 20, 2019
- Comments: 0
- Posted by: hairadmin
दशैं ‘राम्रो लगाउने’ पर्व पनि हो । यसले फेसनमा नयाँ रुपरेखा तय गर्छ । फेसनसँगै जोडिएको छ, केसको सौन्दर्यपनि ।
दशैंमा अक्सर क्लासिक फेसन गरिन्छ । कुर्ता सुरुवाल, लेहेंगा, साडी दशैंको पहिरन हुन् । यस्तो पहिरनसँग कस्तो हेयर स्टाइल सुहाउँछ त ?
प्रश्न यतिमात्र छैन । दशैंमा महिलाहरु निकै धपेडीमा हुन्छन् । यस्तो अवस्थामा केसलाई यसरी सजाउनु पर्छ, जो टिकाउयुक्त होस् । आकर्षक त छँदैछ । त्यसमाथि पहिरन शैलीसँग कम्बिनेसन पनि मिलाउनुपर्छ ।
चाडपर्वमा पार्लर धाउने वा प्रोफेसनल हेयर डिजाइनरको सहयोग लिन त्यती संभव हुँदैन । त्यसैले घरमा आफैले केसलाई सजाउनुपर्ने अवस्था हुन्छ ।
के कुरामा ध्यान दिने ?
पहिरन जतिसुकै राम्रो गरेपनि त्यससँग सुहाउँदो हेयर स्टाइल बनाउन सकिएन भने समग्र व्यक्तित्व फिका हुन्छ । यसमा मेकअपको कम्विनेसन पनि मिलाउनै पर्छ ।
अतः हेयर स्टाइल तयार गर्दा खास ध्यान दिनुपर्ने कुरा भनेको आफुले कस्तो पहिरन लगाइन्छ त्यससँग मिल्दो हुनुपर्छ । चाहे पाइन्ट टिसर्ट लगाउनुहोस् । चाहे कुर्ता सुरुवाल लगाउनुहोस् । चाहे साडी लगाउनुहोस् । त्यस अनुरुप केसलाई पनि सजाउन सक्नुपर्छ ।
यसका लागि विशेषत केहि कुरामा ख्याल गर्नुपर्छ ।
पहिलो त आफ्नो पहिरन नै हो । दोस्रो चाहि अनुहारको बनौट । चाडपर्वको बेला हेयर स्टाइल सुहाउँदिलो, परफेक्ट, टिकाउयुक्त र छरितो हुनुपर्छ । त्यस बाहेक निम्न कुरामा ध्यान दिनुपर्छ ।
१. अनुहारको बनौट तथा रंगलाई ख्याल गर्नुपर्छ । साथसाथै आफ्नो केसको प्रकृति कुन प्रकारको हो, सो कुराको पनि ज्ञान हुनुपर्छ ।
२. केस व्यक्ति अनुसार फरक-फरक हुन्छ । जस्तो, छोटो, लामो, घना, पातलो, कर्ली ।
३. अब, कस्तो ड्रेसअप गर्ने ? त्यसबारे टुंगो गरिसकेपछि त्यही अनुरुप हेयर स्टाइल बनाउन सकिन्छ ।
४.आफ्नो हेयरस्टाइल बनाउँदा अरुसँग तुलना नगरौं । किनभने, अरुको हुबहु नक्कल गर्दा आफ्नो अनुहार, ड्रेसअपसँग मिल्दो नहुन पनि सक्छ ।
५. अनुहारको बान्की अनुसार सहि ढंगको हेयरस्टाइलले आकर्षक एवं परफेक्ट देखिन्छ ।
अनुहारको बनौट अनुसार यसरी बनाउने हेयरस्टाइल
– लाम्चो अनुहार भएकाहरुलाई यस्तो हेयर स्टाइल सुहाउँछ, जुन मुख वा अनुहारतर्फ नआएको होस् ।
– अन्डाकार अनुहारमा अलि लामो केस सुहाउँछ । यस्तो अनुहारमा जस्तोसुकै हेयरस्टाइल पनि खुल्छ ।
– पातलो वा कर्ली केस भएकाले ब्लन्ट कट नगराउनु राम्रो हो ।
चाडपर्वमा हेयरस्टाइल
दशै तिहार जस्ता चाडबाडमा एकनासको पहिरन ठीक हुन्न । हरेक दिन र हरेक किसिमको जमघटमा भिन्न भिन्नै पहिरन लगाउनुपर्ने हुन्छ । साथै यतिबेला गरगहना पनि लगाउनुपर्छ ।
यस्तो अवस्थामा एकै खालको हेयरस्टाइलले नयाँपन देखिदैन । पहिरन र मेकअप अनुसार हेयर स्टाइलमा पनि विविधता ल्याउन सक्नुपर्छ ।
अक्सर दशैं तिहारमा हामी साडी लगाउँछौं । साडीमा हाई वन (जुरा) बनाउन सकिन्छ । साथै लो वन बनाउन सकिन्छ । यसले अनुहार निट र प्रष्ट देखिन्छ । यस किसिमको हेयर स्टाइलमा केस माथि फर्काइने हुँदा गर्दन तलको भाग वा घाँटीको भाग प्रष्ट देखिन्छ । यसले गरगरहना पनि खुल्छ ।
कुर्ता सुरुवाल, लेहेंगा पनि चाडपर्वमा लगाइने पहिरन हो । यो वयस्क, किशोरीदेखि बच्चाहरुलाई पनि मिल्ने र सुहाउने परिहन हो । कुर्ता सुरुवाल र लेहेंगामा टिज हेयर स्टाइल बढी सुहाउँछ । यो स्टाइलमा साइट पार्टिङ निकालेर पछाडिको केस हल्का ब्याक कोमिङ गरी खुल्ला राख्नुपर्छ । साथै अगाडिको भागको केसलाई फ्रेन्छ चोटी बनाई पछाडि पोनी तेल गराउन सकिन्छ । यो निकै छरितो हेयरस्टाइल हो ।
(लेखक हेयर स्टाइलिस्ट हुन् । भारतको दिल्ली र गुडलाऊमा ‘हेयर एन्ड शान्ति’ नामबाट ब्युटी सैलुन चलाइरहेकी उनले काठमाडौंको दरबारमार्गमा पनि शाखा संचालन गरेकी छिन्)