
- August 20, 2019
- Comments: 0
- Posted by: hairadmin
गोबिन्द पोख्रेल, नयाँ दिल्ली, ३१ साउन । फेसन डिजाइनर बन्ने सानैदेखिको उनको सपना थियो, तथापि उनी बनिन व्यूटिक्वीन । बि.कम. पढ्दै गर्दा यही रन्को लिएर उनी लागिन, भारतको राजधानी नयाँ दिल्लीतर्फ । दिल्लीमा थिइन, उनकी दिदी विश्व शान्ति । हेयर र मेकअपमा चर्चित नाम थियो विश्व शान्ति श्रेष्ठको ।
यहीँबाट शुरु भयो अनुजा (अन्नु)को पार्लर यात्रा । अनुजाले व्यूटिपार्लरलाई व्यवसायिक विधा बनाउँदै थुप्रै अन्तर्रा्ष्ट्रिय तालिम र कोर्सहरु सिकिन् । पछिल्लो समयमा राजधानी काठमाडौंमा समेत उनले शाखा खोलिन । त्यसअघि नयाँ दिल्लीमा मात्रै उनका १४ वटा शाखा सञ्चालनमा आइसकेका छन् ।
यो क्षेत्रमा लोकप्रिय एवं विशिष्ट परिचयात्मक नाम विश्व शान्ति श्रेष्ठलाई नचिन्ने दिल्लीका नामी ब्यक्तित्वहरु कमै होलान साथसाथै, भेना नारायण श्रेष्ठको व्यापारिक दृष्टिकोण र संयमता नै सफलताको केन्द्रविन्दु थियो, हेअर एण्ड शान्ति ।
यिनै हेअर एण्ड शान्तिमा सफल कडीको रुपमा रहेकी अन्नुसँग गरिएको कुराकानीको प्रसंग, दिल्ली भ्रमणको समय न्यूज अभियानका रुपन्देही लुम्बिनी संवाददाता गोबिन्द पोख्रेलद्वारा लिईएको अन्र्तवार्ताको सम्पूर्ण प्रस्तुती :-
सैलुनतर्फ कसरी आकर्षित हुनु भयो ?
बालकुमारी कलेजमा पढ्ने बेला फेसन डिजाइन पढ्न दिल्ली गएँ । दिदी विश्व शान्ति र बर्षा हेयर र मेक अपमा चर्चित थिए । सन् १९९४ को मिस यूनिभर्सको कार्यक्रममा हेयर र मेकअपका लागि दिदी चुनिनु भयो । दिदी शान्ति ले नै सुस्मिता सेन लाई कपाल साजसज्जा र श्रींगार समेत गरिन ।
यो देखेर फेसन डिजाइनर भन्दा हेयर र मेकअपमा मेरो ध्यान बढी गयो । त्यसपछि मैले दिदी शान्ति, वर्षा र नारायण भिनाजुको सल्लाह र सुझावमा दिल्ली को प्रतिष्ठित हेयर ड्रेसींग स्कुल पिभोट पोईन्टबाट बेसिक र एडभान्स कोर्स लिए । म उत्कृष्ट भए ६ महिनाको कोर्समा । यसले झनै हौसला दियो ।
त्यसपछि सोझै काम गर्न थाल्नु भयो कि ?
हजुर, ६ महिनाको तालिमले एउटा आत्मविश्वास दिएको थियो । दिदी एउटा ब्यूटी सैलुनमा काम गर्नु हुन्थ्यो । मैले पनि त्यहाँ काम गरे । दिदी त लोकप्रिय हुनु नै हुन्थ्यो । मैले नि धेरै सिकेँ । बिस्तारै मलाई पनि सबैले मन पराउन थाले ।
यही क्रममा दिदीले एकजना नेपाली मूलका ह्यारी भन्ने व्यक्तिसँग मिलेर ह्यारी एन्ड शान्ति सैलुन खोल्नु भयो । तर ग्राहकको चाप यति भयो कि छिट्टै नै डीफेन्स कोलोनी मा ‘हेयर एन्ड शान्ति’को दोस्रो आउटलेट खोल्नु पर्यो । यहाँ मैले मुख्य जिम्मा लिएँ, सञ्चालनको । मेरो लोकप्रियता बढ्दै गयो ।
यसरी विदेशमा सोचेको शिक्षा भन्दा अर्कै शिक्षा ग्रहण गर्दा अन्य मुलुकमा पनि जानु भो त ?
मानिसहरुले सैलुन भन्ने बित्तिकै कपाल काट्ने मात्र बुझ्छन् । जबकि यो सौन्दर्यको एउटा विधा हो । यसका पनि कैयन् सैद्धान्तिक पक्ष छन् । व्यवहारिक पाटा छन् । ती सबै सिक्नुपर्छ । नयाँ नयाँ कुरा सिक्नु जरुरी हुन्छ ।
नयाँ फेसन, नयाँ सामग्री, नयाँ ज्ञान आवश्यक पर्छ भन्ने लागेर बजारको माग अनुसार नयाँ गर्न केही तालिमको आवश्यकता परेको मलाई लाग्यो । त्यसैले विदेशबाट केही नयाँ सीप सिकौं भनेर म ३ महिनाको कोर्स लिन सिङ्गापुर गएँ । त्यहाँ पनि मलाई राम्रो जागिरको अफर आयो ।
तर यता ६ महिनाको बाबु छोडेर गएकी थिएँ, बस्न मन लागेन र फर्किए । गुडगाउँमा भारतकै सबैभन्दा ठूलो शपिङ मल खुल्दै थियो । त्यहाँ दिदीसँग मिलेर आफ्नै शैलुन खोले । शैलुनले राम्रो ख्याती पायो ।
दिल्ली आसपास कति ठाउँमा छन त ? यस्ता सैलुनहरु ?
यो हाम्रो मेहनत, सीप र नरम मृदृ स्वभावले गर्दा हो । पैसालाई मात्रै हामीले हेरेनौं । ग्राहकको सन्तुष्टि र दक्षतालाई हामीले विशेष ध्यान दियौं । काम गर्ने जनशक्ति पनि दक्ष हुनुपर्यो । अहिले हामीले दिल्लीका विभिन्न लोकप्रिय ठाउहरु, नोएडा, गुडगाँव लगायत दिल्लीमा १४ वटा सैलुन स्थापना गरेका छौं ।
राजधानीमा सैलुनको सोच कसरी आयो ?
दिल्लीमा निकै बसियो । तर आफ्नो देशका लागि पनि केही गरौं भन्ने थियो । कम्तीमा केहीले त रोजगार पाउँछन् । अनि सैलुनको व्यवसायिकतामा पनि केही नयाँ उदाहरण स्थापित गर्न सकिन्छ, भन्ने सोचियो । यो सँगै नेपालबाट आउने नेतादेखि कलाकार र अन्य व्यक्तिले पनि यस्तो त नेपालमा पनि खोल्न पाए हुन्थ्यो भनेर, सुझाव दिए । त्यसपछि नेपालमा पनि सैलुन खोल्ने सोच राखेर काठमाडौंमा शाखा खोलेका हौं ।
को को आए, तपाईको सैलुनमा नेपालबाट ?
यहाँ धेरै आएका छन् । उद्योगपतिदेखि कलाकार, नेतासम्म । विदेशमा पनि नेपालीले यति ठूलो व्यवसाय गरेको देखेर खुशी व्यक्त गर्दै सुझाव सल्लाह दिनुुहुन्छ । एकपटक पूर्व राजा ज्ञानेन्द्र आउनुभयो । हाम्रो सैलुनमा आधाजति नेपाली स्टाफ भएपनि कसैले चिनेनन शुरुमा । तर मैले देख्ने बित्तिकै चिनेँ ।
मलाई चाहिँ वहाँ सरल र नम्र लाग्यो । अङ्गरक्षक बाहिर नै राखेर वहाँ भित्र आउनु भएको थियो । त्यस्तो तडकभडक केही थिएन । नेपालीमा नै कुरा गर्नुभयो । त्यति बढी त कुरा हुन पाएन । जाने बेला सबैले बाँडेर लिनु होला भनेर, केही अतिरिक्त पैसा समेत दिएर जानु भयो ।
र, दिल्लीमा, गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल भारत आएको बेला प्रथम महिला सीता दाहाल पनि आउनुभयो । वहाँले नेपालकै महिलाले गरेको व्यवसाय भनेर सुनेर आएको भन्नुभयो । साधारण कपालको काम गराउनुभयो । वहाँसँग चाहिँ अलि बढी नै कुरा गर्ने मौका मिल्यो ।
प्रधानमन्त्रीको श्रीमती जस्तै लागेन । केही चुरीफुरी थिएन, सरल, सौम्य, हाम्रो आमा भाउजु जस्तो सोझो । हामीले सँगै तस्वीर पनि लियौं । वहाँले पनि ‘अब नेपालमा पनि खोल्नुपर्छ है” भनेर जानुभयो । त्यसपछि हामीले काठमाडौंमा खोल्यौं ।
विदेशी मुलुकहरुमा पनि तालिम वा सेमिनारहरुमा भाग लिने मौका लिनु भयो त ?
सन् २००७ मा कोरिया गएर त्यहाँको नाम चलेको संस्थानमा १ महिनाको एडभान्स कोर्स पुरा गरे । त्यसपछि २०१० मा अष्ट्रेलियाको सिडनीमा भएको हेयर ड्रेसिङ सेमिनारमा भाग लिएँ, यसैगरी सन् २०११ मा फ्रान्सको राजधानी पेरीसमा ‘लोरेल प्रोफेसनल’ले आयोजना गरेको वर्कसप मा भागलिए त्यस्तै सन २०१२ मा ईन्डोनेशीयाको वालीमा लोटस ईन्डीयाले आयोजना गरेको शो तथा सेमीनारमा भाग लिएँ ।
सन २०१३ मा स्पेनको बार्सिलोनामा, २०१४ मा ग्रीसको राजधानी ऐथेन्सका कार्यक्रममा संस्थाको प्रतनिधित्व गरेँ । सन् २०१५ मा टोनी एन्ड गाऐ लन्डनबाट मास्टर्स कोर्ष पुरा पनि पुरा गरे । पछिल्लो समय भने सन् २०१६ मा नेदरल्याण्डको ऐमस्टरडममा मेट्रीक्स ईन्डीयाले आयोजना गरेको लुक एन्ड लर्न क्लासमा सहभागी भएँ मैले साउथ अफ्रिकाको केपटाउन र कोलोम्बोबाट पनि प्रशिक्षण लिएको छु ।
भनेपछि संसार नै चाहार्नु भएको रहेछ शीप सिक्न, हैन ?
त्यस्तै भन्नु पर्यो । दोश्रोपटक सन २०१५ मा फ्रान्सको राजधानि पेरीसमा माट्रीक्सले आयोजना गरेको कार्यक्रममा सहभागी भए । त्यहाँ चर्चित हेयर स्टाईलिस फिलीप ग्रान्डीन र कोरीनी राफ्रेसंग ‘कट’ को मास्टर क्लास पुरा गरे ।
यसअघि ऐथेन्समा माट्रिक्स ग्लोवल टिम मेम्वर ड्यानीयल रोल्डेनसंग पनि कट कै मास्टर क्लास लिएकी थिएँ । विदेशमा सिक्न जाने क्रममा सन २०१६ मा अमेरीकाको सन फ्रान्सिसकोमा जादा त्यहाँका साथीहरुबाट पनि धेरै हौसला तथा प्रोत्साहन पाईयो अमेरीका मै पनि राम्रो पारिश्रमिकको प्रस्ताव प्राप्त भए तर त्यहाँ बस्न मन परेन र फर्किए ।
यसरी आफुले चाहेको भन्दा वेग्लै विधामा काम गर्ने प्रेरणा, को बाट पाउनु भयो ?
म फेसन डिजाइन पढ्न आएको थिएँ । तर सैलुनतिर लागे । यसका पछाडि मेरो दिदीको प्रेरणा ठूलो छ । त्यहाँ पनि मेहनत गरेको भए यही अनुसार सफल भइन्थ्यो होला । तर अग्रजले देखाएको बाटोमा हिँड्दा सफलता पाइयो । दिदीकै सल्लाह र सुझावले आज म यो ठाउँमा पुगेकी छु । दिदी मेरो गुरु हुनुहुन्छ ।
नेपालमा कस्तो चलेको छ ?
नेपालमा छिटै समयमा राम्रो लोकप्रियता पाइएको छ । हामीले विज्ञापन नै गरेका छैनौं । तर सुनेकै भरमा हाम्रोमा भ्याइ नभ्याइ भएको छ । नाम चलेका सेलिबे्रटीहरु प्रशस्तै आउनुभएको छ । अहिले जनशक्तिको व्यवस्थापन गर्नेतर्फ लागेका छौं । हामीले आफूले सिकेको सीप सिकाउँछौं । अहिले राम्रो छ । चाप धान्न नसकिएला कि भन्ने, चिन्ता छ ।
नेपालमा पनि अरु शाखा खोल्ने योजना छैन ?
अहिले जति जनशक्ति छ, हामीलाई भ्याइ नभ्याई भईरहेको छ । मिस नेपाल २०१७ को केस सज्जा समेत गरे । त्यसले झन लोकप्रियता बढाएको छ । यही वर्ष उपत्यकाभित्र अरु दुई शाखा संचालनमा ल्याउने तयारी गर्दैछौ । म व्यक्तिगत रुपमा आफुलाई चिनाउनु भन्दा पनि हाम्रो व्रान्ड “हेयर एन्ड शान्ति” लाई चिनाउने प्रयासमा लागेको छु । त्यसैले नेपालमा पनि सबै शाखा एउटै नाममा खुल्ने छन् ।
यो सफलताको पछाडी कसलाई विशेष रुपमा सम्झन चाहानुहुन्छ ?
हुन त पहिले नै भनिसके मेरो प्रेरणास्रोत भनेकै दिदी हो । साथमा मेरो जीवनसाथी राजकुमार पनि हो । मलाई हरेक क्षेत्रमा अग्रडी रुपमा सघाउने मेरो जस्तो श्रीमान् सबै नारीले पाउन सके सफलता नै सफलता पाइन्छ, जीवनमा ।
मेरो भिनाजु नारायण श्रेष्ठले सधै आफ्नो सन्तानलाई जस्तै सधै माया गर्नु र मलाई हरेक क्षेत्रमा अग्रसर गराउन दिदिको साथ दिनुपनि, शायद मैले सफलताको सिडी पार गर्न सक्नु, हो की ? भन्ने मेरो सोचाई रहिरहन्छ । र, आभारी छु, म मेरा सम्पूर्ण आफन्तीहरुप्रति जसले मेरो लगन र मेहनतलाई मुकाम सम्म पुर्याउन सधै साथ र सहयोग गर्नुभयो । यहि माया र प्रेरणाले काठमाडौंमा अब छिट्टै नयाँ शाखा खोल्ने तयारीमा जुटेको छु ।